तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमालाई “नो हर्न पालिका” बनाउने तयारी

रुपन्देही । समुदायमा आधारित सरसफाई तथा हरियाली कार्यक्रम शुरुवात गरेर देशमै नमुना बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अभियानको १ सय औँ शृङ्खलालाई विशेष रूपले मनाउने तयारी गरेको छ । सरसफाई अभियानसँगै अब ‘नो हर्न नगरपालिका’ घोषणाको तयारी गरिएको छ ।

आगामी चैत १ गते पूरा हुने १ सयौँ दिनको संस्करण अन्तरगत सोही दिन तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो । सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौँ दिनको संस्कार मनाउन लागेको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत सचेतना अन्तरक्रिया, टेलिभिजन बहस कार्यक्रम, विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगरस्तरीय सरसफाई र रक्तदान कार्यक्रमको तयारी गरिएको नगर प्रमुख खाणले जानकारी दिनुभयो । 

यसैगरी फागुन २८ गते सामुदायिक र संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने छ।

शृङ्खलाको १ सयौँ दिन चैत्र १ गते मूल समारोहसहित विशेष कार्यक्रम गरिने उपप्रमुख जागेश्वरदेवी चौधरीले बताउनुभयो । मूल समारोहमा विभिन्न जातजाति तथा सांस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरूलाई सम्मान गरिने भएको छ । सोही दिन नै नगरमा कुहिने र नकुहिने फोहोर अलगअलग उठाउने कार्यक्रमको सुरुवात गरिने कार्यकारी प्रमुख नारायण अर्यालले बताउनुभयो ।

तिलोत्तमाका १९९ टोल विकास संस्थामार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौँ दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरमा हाल ४० जना सरसफाइकर्मीद्वारा फोहर सङ्कलनको काम भइरहेको तथा १७ वटै वडामा फोहरमैला सङ्कलन तथा व्यवस्थापन हुँदै आएको उहाँको भनाइ छ । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ । ०७४ साल साउन ६ गतेबाट सुरु भएको यो अभियानलाई १९९ टोल विकास संस्थामा पुराइएको छ ।

स्थानीयले तिलोत्तमाको सरसफाई अभियान नमुना भएपनि छिमेकी पालिकासँग समन्वय नभएको र पहिले सुरुवात गर्दाको ऊर्जा टोल विकासहरूमा कमी देखिएकोले जनप्रतिनिधिले सजगता अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button