शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिनुभयो ।
‘हामी सकारको नेतृत्व गरिरहेका छौँ, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौँ’, उहाँले भन्नुभयो, ’कैयौँ पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौँ, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।’
पार्टी र सरकारसम्म जनताका आवाज पुर्याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारी रूपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।
‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुभयो’, उहाँले भन्नुभयो, ‘हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, शहीदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’
अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताउनुभयो । पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताउनुभयो ।
सो क्रममा माओवादी केन्द्र धुनीबेँसीका अध्यक्ष राजकुमार पाठक, गल्छीका अध्यक्ष रामशरण सिन्चुरीलगायतले मन्त्री शर्मालाई पार्टी गतिविधिबारे अवगत गराउँदै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्