जनकपुरधाममा होली महोत्सव शुरु, भोलि महामूर्ख सम्मेलन
जनकपुरधाम । जनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ शुरु भएको छ ।

मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा शुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ । डेढ दर्जन होरैया समूहहरूको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूहहरू सहभागी भए ।

होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई मिथिला नाट्यकला परिषद्ले पुरस्कृत पनि गर्दै आएको छ । प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने गरिन्छ ।
होली महोत्सवको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अबधेश कामत लगायतले संयुक्त रुपमा गर्नुभएको थियो ।

जानकी मन्दिरको प्राङ्गणमा शुरु भएको दुई दिने कार्यक्रम अन्तर्गत भोलि महामूर्ख सम्मेलनको आयोजना हुने छ ।
दुई दिवसीय होली महोत्सव अन्तर्गत भोलि आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रुपमा रहेको छ । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्तिहरू दौडमा रहेको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्