प्रमुख जिल्ला अधिकारी भट्टराईद्वारा तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्रामकाे निरीक्षण

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आज विराटनगर–४ स्थित खार्जीमा रहेको तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्रामको निरीक्षण एवं अवलोकन गर्नुभएको छ ।
सो अवसरमा उहाँले सञ्चारग्रामले आफ्नो उद्देश्य अनुरुप आवश्यक सेवा प्रदान गर्न विराटनगर महानगरपालिकासँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनुगमनअघि ताराणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको सञ्चालक समितिको बैठक समेत बसेको थियो ।
बैठकमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले निकट भविष्यमै सञ्चारग्रामबाट गीत सङ्गीत रेकर्डिङ तथा सञ्चारकर्मीको तालिमका लागि आवश्यक व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो ।
उहाँले सञ्चारग्रामले कोसी प्रदेशको गीत सङ्गीत पत्रकारिता भाषा तथा कला संस्कृतिको विकासमा मद्दत पुर्याउने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सञ्चारग्रामको सञ्चालन निर्देशिकामा उल्लेख भएअनुसार महानगरले एफएम सञ्चालनका लागि आवश्यक जनशक्ति सञ्चारग्रामलाई उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले सञ्चारग्रामको उद्देश्य र महत्त्वबारे उल्लेख गर्नुहुँदै सञ्चारग्राम पूर्वकै गहना भएको बताउनुभयो ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापा, रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुख वौयेलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले पत्रकारिताको विकासमा सञ्चारग्रामको भूमिका महत्त्वपूर्ण रहनेमा जोड दिनुभयो ।
यसअघि रेडियो नेपालका कार्यकारी निर्देशक केसीले सञ्चारग्रामका कर्मचारीलाई निर्देशन दिनुहुँदै कर्मचारीहरूले थप जिम्मेवारीबोधका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्