तपाईँ सुन्दै हुनुहुन्छः

‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन

काठमाडौँ । वन्यजन्तु संरक्षणकर्मी तथा साहित्यकार केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) को कृति ‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन भएको छ ।

डा. ठाकुरनाथ स्मृति गुठीद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले उक्त पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा महानिर्देशक ढकालले निबन्ध विधामा लेखिएको पुस्तकमा वन्यजन्तुमा लामो समयसम्म काम गरी अनुभवले खारिएका लेखकले जागिरे जीवनमा पनि समयको सदुपयोग गरी वन संरक्षणमा भोगेका यथार्थ अनुभव समेटेकाले हरेक कर्मचारीको लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार सविना सिन्धुले पुस्तकमा प्रथम खण्डमा चिन्तन अनुसन्धानमा आधारित राष्ट्रिय निकुञ्जभित्रका रमणीय स्थल, वन, वन्यजन्तु विषय र द्वितीय खण्डमा जागिरे सिलसिलामा भोगेका यथार्थ अनुभवलाई समेटिएको जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्जभित्रका यथार्थ भोगाइलाई उजागर गरी नितान्त जङ्गलको बसाइ र भोगाइ समेटिएका साथै विभिन्न स्थान, परिवेश, प्रकृति, वन्यजन्तु र व्यक्तिसँग साक्षात्कार हुँदाका यथार्थ र अनुभूतिलाई उजागर गरेको लेखक भेटवालले बताउनुभयो । उक्त पुस्तक अङ्ग्रेजी भाषामा पनि प्रकाशित गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button