तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनदेखि सम्पर्कविहीन युवक मृत फेला

तनहुँ । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मर्स्याङ्दी नदीमा मृत फेला परेका हुन् ।

सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दीको किनारमा भेटिएको थियो ।

घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button