तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको पक्षमा पूर्ण बहुमत छ : काँग्रेस नेता निधि

जनकपुरधाम । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारबाट दुई पार्टीले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्री अल्पमतमा नपरेको र उहाँलाई १० दलको समर्थन रहेको बताउनुभएको छ ।

नेता निधिले नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जहिले पनि विश्वासको मत लिँदा उहाँको पक्षमा बहुमत हुने दाबी गर्नुभयो ।

उहाँले वर्तमान राजनीति सही दिशामा हिँडेको बताउँदै चुनावको समयमा भएका गठबन्धन दलबीच नयाँ समीकरण हुनु प्राकृतिक एवं जनताको मतको सम्मान भएको पनि बताउनुभयो ।

नेता निधिले आठ दलको समर्थन नेपाली काँग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा रहेको बताउँदै मुलुकको आगामी राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित भएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस र माओवादीबिच दूरी बढ्दा मुलुक जहिले पनि असहजतातर्फ जाने गरेको बताउँदै अबको पाँच वर्ष अहिलेको गठबन्धनका सरकार निर्विवाद रुपमा चल्ने दाबी गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नेपालको लोकतान्त्रिक आन्दोलन तथा जनताको जनजीविकाको सवालमा नेपाल प्रेस युनियनका पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार नीति स्वतन्त्र प्रेस तथा मिडिया हाउस मैत्री हुनुपर्ने माग गर्दै स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका उपाध्यक्ष अनिल कर्ण, नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष राजेश कर्ण सहितका वक्ताहरूले बोल्नुभएको थियो । कार्यक्रममा १ दर्जन प्रेस युनियनकर्मी पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button