तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा छाई फाल्ने ३ वटा ट्याक्टर नियन्त्रणमा

वीरगंज । वीरगंजको मध्य भाग भएर बग्ने सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने अभियानमा जुटेको वीरगंज महानगरपालिकाले गएराति उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने क्रममा ३ वटा ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको छ । 

वीरगंजको वडा नम्बर २१ मा सिर्सिया नदीमा छाई फाल्ने क्रममा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ ट्याक्टरलाई नियन्त्रणमा लिएको वीरगंज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो । 

गएराति नियन्त्रणमा लिएका ट्याक्टर र चालकलाई आज पहिलो पटक चेतावनी स्वरूप जनही १/१ हजार रुपैयाँ जरिवाना गरी छाडिएको छ । महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान चलाइरहेको अवस्थामा नदी प्रदूषण गर्नेलाई कारबाही गर्ने रणनीति अनुसार नदीमा उद्योगको छाई फाल्नेलाई कारबाही गरिएको हो । 

नदी प्रदूषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तीव्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर जथाभाबी फाल्दा सिर्सिया नदी प्रदूषित हुने गरेको छ । 

वीरगंज महानगरपालिकाले वीरगंज पथलैया औद्योगिक कोरिडोरमा पर्ने छाला उद्योग सहित विभिन्न उद्योगहरूले औद्योगिक रसायन सहितको प्रदूषित पानी सिर्सिया नदीमा मिसाएको भेटिएपछि ती उद्योगलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइएको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले  बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button