तपाईँ सुन्दै हुनुहुन्छः

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । साहित्यकार वैरागी काइँलालाई एक लाख रुपैयाँ राशिसहितको  ‘वानीरा प्रज्ञापुरस्कार’ र साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपैयाँ राशिसहितको  ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर योगदान दिँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गर्ने निर्णय भएको वानीरा फाउण्डेशनले जनाएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

साथै नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर योगदान गर्दै विशेष गरेर उत्तर आधुनिक तथा उत्तर उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउण्डेशनले जनाएको छ ।

डा.वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा पुरस्कार प्रदान गरिने भएको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थिति र इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button