तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीलाई पराजित गर्दै क्यामरुन सेमिफाइनलमा

सुनसरी । पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन धरानमा जारी २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान १६ स्थित रङ्गशालामा भएको दोस्रो दिनको खेलमा एभिनियरका तर्फबाट निर्णायक गोल सब्बा अलीले गरेका थिए । अलीले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागी भएको बागमती युवा क्लब सर्लाहीका विरुद्ध खेलको १४ औँ मिनेटमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए ।

प्रतियोगितामा बागमती युवा क्लबका खेलाडी आयुष राना म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

आठ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्तालाई ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५/२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

सोमबारको तेस्रो क्वाटर फाइनल खेल केएफटिसी झापा र विभागीय टिम नेपाल पुलिस काठमाडौँबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button