तपाईँ सुन्दै हुनुहुन्छः

सन्दिप भोलि युएई जान नपाउने, उच्च अदालतले विदेश जान लगाएको रोक हटाउन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान लगाएको रोक हटाउन अस्वीकार गरेको छ । 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेको निवेदनउपर आज सुनुवाई गर्दै माग बमोजिमको आदेश दिन अस्वीकार गरेको हो । 

न्यायाधीश खतिवडाको एकल इजलासले उच्च अदालतको धरौटीमा छाड्न दिएको आदेशउपर महान्यायाधिवक्ता कार्यालयले र बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेले धरौटीमा छाड्न राखेको सर्त हटाउन दिएको दुवै निवेदन एकैसाथ राखेर आइतबारलाई पेशी तोक्न आदेश दिएको छ ।

पेशी आइतबार तोकिएकाले क्रिकेटर लामिछानेको भोलिको युएई भ्रमण रोकिएको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजी विरुद्धको एक दिवसीय सिरिजका नेपाली टिम भोलि शनिबार युएई जाँदैछ ।

युएई र पिएनजी विरुद्धको एक दिवसीय सिरिजका लागि आफू पनि युएई जान पाउनुपर्ने भन्दै सर्वोच्चमा लामिछानेको रिट परेको थियो । 

क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसबिरुद्ध लामिछानेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दै उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता सर्तहरू राखेको छ । 

लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदनको निवेदन दिएको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र हरिप्रसाद फुयाँलको इजलासमा आजका लागि तोकिएको भएपनि हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button