केशलिया खोलामा पक्की पुल निर्माण
विराटनगर । मोरङको बेलबारी–४ लिम्बु चोकस्थित केशलिया खोलामा पक्की पुल निर्माण भएको छ ।
बेलबारी नगरपालिका वडा नं. ४ र ९ लाई जोड्ने पुल ६ करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय मोरङले पुल निर्माण गरेको हो ।

प्रदेश नं. १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाँइले पुलको उद्घाटन गर्नुभयो । स्थायिनको माग र आवश्यकता अनुसार पुल नभएको ठाउँमा पुल तथा सडक निर्माणको कामलाई प्रदेश सरकारले तीव्रता दिइरहेको उहाँले बताउनुभयो ।

३७ मिटर लामो पुल निर्माणका लागि २०७६–११–१० मा गीताञ्जली कन्ट्रक्सन प्राली दुहबीसँग ठेक्का सम्झौता भएकोमा गत असारमा पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले बताउनुभयो ।
खोलामा पुल बनेर सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । पुल बनेपछि घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्