तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय इलामबाट इ–पासपोर्टको फारम निःशुल्क भरिँदै 

इलाम ।  जिल्ला प्रशासन कार्यालय इलाममा नयाँ प्रमुख जिल्ला अधिकारी  श्रवणकुमार पोखरेल आएसँगै सेवाग्राहीले केही फरक अनुभव गरेका छन् । 

सेवाग्राहीले इ–पासपोर्ट फारम भर्न बिचौलियालाई प्रशासन कार्यालय बाहिरा एक हजारदेखि त्योभन्दा माथिसम्म रकम तिर्नुपर्ने अवस्था थियो तर अब जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिचौलिया अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको छ । 

प्रशासनले अहिले ३ सिफ्टमा कर्मचारीको व्यवस्थापन गरेर बिहान ७ः०० बजेदेखि राती ९ः०० बजेसम्म नै निःशुल्क इ–पासपोर्टको फारम भर्ने व्यवस्था गरेको छ भने सेवाग्राहीले एकै दिनमा काम सकेर घर फर्कन समेत पाएका छन् । त्यसभन्दा पहिला पहुँचको भरमा र बाहिरका एजेन्टको भरमा काम हुने गरेको र निक्कै ठुलो सङ्ख्यामा फाइलहरू पेन्डीङ रहेको थियो । 

जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू खुसी भएका छन् । बाहिर दुई सयदेखि १ हजार रुपैयाँसम्म पनि लिने गरेकोमा कार्यालयले निःशुल्क रुपमा अनलाइनमार्फत फाराम भर्ने व्यवस्था शुरु गरेको हो ।

ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनुपर्ने बाध्यतालाई तोड्दै  सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेकाले सेवाग्राही लक्षित काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

अहिले कार्यालयले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बिहान, दिउँसो र बेलुकाको सिफ्ट बनाई कर्मचारीको व्यवस्थापन गरेको छ । यो सेवा सुरुभएपछि जिल्ला प्रशासन कार्यालयबाट दैनिक १ सय ५० बढी सेवाग्राहीले एकै दिनमा सहज रुपमा ईपासपोर्टको फाराम भरेर घर फर्कन पाएका छन् ।

यसरी सेवा लिने क्रममा  राष्ट्रिय परिचयपत्र नभएकाहरूले पनि त्यही दिन फारम भरेर ई–पासपोर्टको फारम एकै दिनमा भर्न पाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहसँग लागत साझेदारी गरेको छ । १० वटै स्थानीय तहसँग साझेदारी गरे अनुसार १० पालिकाले मासिक रुपमा ८ हजार रुपैयाँका दरले जिल्ला प्रशासन कार्यालयको खातामा रकम हाल्ने र त्यसमा जिल्ला प्रशासन कार्यालयको समेत साझेदारीमा कर्मचारी व्यवस्थापन गरेर बिहानदेखि बेलुकासम्म सेवा प्रवाह गरिएको छ । 

उहाँले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले पाउने नागरिकता, राष्ट्रिय परिचय पत्र र पासपोर्टलाई छिटो र सहज ढङ्गबाट सेवा प्रवह गर्ने गरी अघि बढेको जानकारी समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button