देशलाई समृद्ध बनाउन व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : मन्त्री शर्मा

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्ध राष्ट्र निर्माणका लागि सीपयुक्त, दक्ष र सक्षम जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३५औँ वार्षिकोत्सवको अवसरमा आज सानो ठिमीमा आयोजित कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो । प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुहुँदै उहाँले आगामी दिनमा राष्ट्र निर्माणको लागि के कति सङ्ख्यामा कुन तह र क्षेत्रका जनशक्ति आवश्यकता पर्ने हो सो को राष्ट्रिय स्तरमा प्रक्षेपण हुनुपर्ने बताउनुभयो ।

सरकारले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई जोड दिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले अनौपचारिक सीप आर्जन गरेका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
देश सङ्घीयतामा गए पनि नयाँ शिक्षा ऐन जारी हुन ढिलाइ भएको भन्दै उहाँले शिक्षा ऐन र निजामती सेवा ऐन निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राविधिक शिक्षाका विकास एवं बिस्तारका लागि सरकार प्राथमिकताका साथ लागिरहेको बताउनुभयो ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा.संगीता सिंहलगायतले प्राविधिक शिक्षालाई ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सीटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेश गर्नुभयो ।
सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीइभीटीको आवश्यकता, सुधारका योजना र राज्यको योगदानका बारेमा चर्चा गर्नुभयो एको थियो ।
सो अवसरमा उत्कृष्ट प्राविधिक शिक्षालय ,उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्