भावी राष्ट्रपतिको खोजीमा निर्णायक छलफलमा दलहरू
सहमतिका लागि दलहरुबीच दुईपक्षीय एवं बहुपक्षीय छलफलको तयारी

काठमाडौँ । सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल यत्तिखेर राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्ने अन्तिम तयारीमा छन्।
राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले मनोनयन दर्ताको अघिल्लो दिन दलहरूले अन्तिम चरणको छलफललाई तीव्रता दिइ रहेका हुन् ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको थियो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरू सहभागी बैठकमा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ।
यसैबीच आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदैछ । यस अघि आजै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगसमेत छलफल गर्दै हुनुहुन्छ ।
जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकसमेत बस्ने तयारी छ ।
भावी राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भोलि फागुन १३ गते शनिबार बिहान ८ः३० केन्द्रीय कार्यसम्पादन समितिको बैठक ढाँकेको छ ।
उता सत्तारुढ दल एमालेले पनि राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउन भोलि बिहान (शनिबार) नै पदाधिकारी बैठक ढाँकेको छ ।
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ ले भने आज (शुक्रबार) नै राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १२ः३० बजेका लागि पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्