तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार गर्न जरुरी : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । समग्र उद्योग ट्रेड युनियन हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको हो । 

मन्त्री श्रेष्ठले उद्योगको अवस्थामा सुधार गर्दै निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्ने गरि क्षमता बिस्तार गर्न समेत जरुरी रहेको बताउनुभयो । स्वर्णिम इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योगले हेटौँडा कपडा उद्योगको जस्तो अवस्था बेहोर्न नहुने बताउनुभयो । हेटौँडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै उद्योगलाई बजारमा आएका निजी उद्योगसँग प्रतिस्पर्धी गर्ने गरी क्षमता बिस्तार गर्नुपर्ने उहाँको भनाई थियो । हेटौँडा सिमेन्ट जस्तो प्रतिष्ठित उद्योगको कारण हेटौँडालाई देशभर औद्योगिक नगरको रुपमा चिनिएको भन्दै उहाँले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

स्वर्णिम इतिहास बोकेर अघि बढेको उद्योगको के–कस्ता पक्षलाई सुधार गर्नसके उद्योग नियमित सञ्चालन हुन्छ, प्रतिस्पर्धामा उत्रन सक्छ भन्ने विषयमा उद्योगसँग सम्बन्धित पक्षबाट राज्यलाई पनि झकझकाउनु पर्ने भन्दै मन्त्री श्रेष्ठले सरकारी मातहतका उद्योगले कम नाफा कमाएर सेवामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले उद्योगमा श्रमिकहरूले बेहोर्नुपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरू अवलम्बन गर्ने भन्दै श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपूर्वक कामहरू अघि बढाउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button