तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी आज हेटौँडा आउनुहुँदै

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउनुहुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौँडा आउन लाग्नु भएको हो । 

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको नव निर्मित भवन उद्घाटनका लागि उहाँ आउन लाग्नु भएको हो । करिब ३ वर्षको अवधिमा बीएस कन्ट्रक्सन कम्पनीले ३५ करोड ३२ लाख ८ हजार लागतमा तीन तले सुविधा सम्पन्न नयाँ भवन निर्माण गरेको हो । २०७६ भदौ ७ गते निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न भएको हो । 

२०१६ सालमा १५ बेडबाट सुरु भई जिल्ला अस्पतालको रुपमा २०२२ सालमा स्थापना भएको हेटौँडा अस्पताल तत्कालीन अस्पताल विकास सेवा समितिको गठन पछि नेपाल सरकारको २५ शैया र विकास समितिको २५ शैया गरी जम्मा ५० शैया सञ्चालन हुँदै आएको थियो । आर्थिक वर्ष २०६१/६२ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार उप–क्षेत्रीय अस्पतालमा रूपान्तरण गरिएपनि उप–क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शैया कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरहेको थियो । हाल नेपाल सरकारको ५० शैया र विकास समितिको ५० शैया तथा अन्य १० शैया गरी ११० शैया प्रयोग भइरहेको छ । अब मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान मार्फत अस्पताल २०० शैया सञ्चालन हुने छ । अस्पतालमा अहिले करिब २ सय जना स्वास्थ्यकर्मीहरू कार्यरत छन् । प्रतिष्ठान मार्फत सञ्चालनमा आएपछि अहिले हेटौँडा अस्पतालको सेवा समेत विस्तार भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button