तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जङ्गली हात्तीको आक्रमणमा परी घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड र आगजनी गरेका छन् ।

स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको ना १ झ ९८८ नम्बरको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको छ । गएको वर्ष पनि मसिनेमै हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button