तपाईँ सुन्दै हुनुहुन्छः

३० हजार मेट्रिक टन युरिया मल वीरगंज भित्रिन शुरु

वीरगंज । आगामी चैते धान बालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने क्रम शुरु भएको छ । 

भारतको कोलकात्ता बन्दरगाहबाट ३ हजार मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे र्‍याक आइतबार वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ । 

कृषि सामग्री कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगंजका प्रमुख चन्द्र चौलागाईले ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर ओभरसिज कम्पनीले उक्त मल मलेसियाबाट आयात गरिएको जानकारी दिनुभयो । 

करिब २ साताअघि उक्त युरिया मलेसियाबाट कोलकाता बन्दरगाह आइपुगेको थियो । बन्दरगाहमा बोरामा प्याकिङ गरेर ल्याउन करिब २ साता लागेको हो । 

कुल ३० हजार मेट्रिक टन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय मेट्रिक टन मल पाउने चौलागाईले जानकारी दिनुभयो ।  

आयातित मल आउँदो चैते धानबाली सिजनका लागि उपयोगी हुने चौलागाईले बताउनुभयो । यसअघि नेपाल सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिसकेको छ । 

भारतसँग आयात गरिएको मल देशका विभिन्न स्थानमा पठाउने काम भई रहेको र हाल सो मल किसानहरूले गहुँ बालीका लागि धमाधम लगि रहेको चौलागाईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button