जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक बिदामा पनि सेवा प्रदान

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि नागरिकहरू लाई सेवा प्रदान गरेको छ ।
शनिबार र प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको दिन नागरिकहरूले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत सरकारी सेवा प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानीमा भएको अनलाइन सेवा सामान्य नागरिकहरूका लागि झन्झटिलो भएकाले नागरिकहरूले सरासर सेवा पाउने व्यवस्था मिलाउन सार्वजनिक बिदाको दिन पनि सरकारी सेवा प्रदान गरिएको बताउनुभयो ।
शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा हुँदा नागरिकहरूलाई राहदानी लिने प्रक्रिया लामो हुने भएकाले शुक्रवार नै शनिवारका लागि ८५ जनाको टोकन र टाइम कार्ड उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
शनिबार र आइतबारका लागि टाइम र टोकन कार्ड उपलब्ध गराइएको आधारमा नागरिकहरू बिदाको दिनमा पनि सरकारी सेवा लिन आएका थिए । बिदाको दिन सहज र सरल ढङ्गबाट सेवा लिन पाएको सेवाग्राहीहरूले बताएका छन् ।
नागरिकहरूको माग अनुसार सेवा उपलब्ध गराउने अवस्था नभएकाले नागरिकहरूलाई परेको कठिनाइ लाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालयले बैक काउन्टर समेत बिदाको दिन सञ्चालन गरेर सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्याल र सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतको टोली सरकारी बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुहुन्थ्यो भने अन्य कर्मचारीहरू पनि राहदानीका लागि नियमित काममा खटिनु भएको थियो।
सार्वजनिक बिदाको दिन पनि सहज र सरल ढङ्गबाट सेवा लिन पाउँदा सेवाग्राहीहरू अत्यन्तै खुसी भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्