तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ I

निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपति र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची कार्यालयलाई उपलब्ध हुने र कार्यालयबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने बताउनुभयो । 

उहाँले पछिल्लो राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन प्राप्त भई नसकेकाले विद्यमान कानूनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको बताउनुभयो । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको पदभार ४८ रहने कानूनी व्यवस्था रहेको छ । 

प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ बजेसम्म मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतगणना निर्वाचन अधिकृतको रेखदेखमा केन्द्रमै गर्नुपर्ने व्यवस्थाका कारण प्रदेशमा मतदान केन्द्र राख्न नसकिएको जानकारी दिनुहुँदै मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमै हुने बताउनुभयो ।

निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरासमेत सहभागी कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालयले कार्यारम्भ गरेको जानकारी दिनुभयो । 

आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत, पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वाेच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा गराउन दिइएको विश्वासलाई कार्यबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् । 

प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ३ सय ८६ र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ४ सय गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । 

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button