देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न आवश्यक : सञ्चारमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले जिम्मेवार पत्रकारिताले नै जनताको विकास प्रतिको आकाङ्क्षा पुरा गर्ने भएकाले पत्रकारहरूले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
गृह तथा सञ्चारमन्त्री सिंहले राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सव अवसरमा मधेश प्रदेशको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको “लोकतन्त्रमा जिम्मेवार पत्रकारिता र राससको भूमिका” विषयक विचार गोष्ठीमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले संघीय लोकतन्त्र एवं गणतन्त्र स्थापना भएको पाँच वर्षको अवधिमा प्रदेशका जनताले कतिको सेवा सुविधा पाएको छ वा छैन त्यस विषयमा पनि निष्पक्ष रुपमा कलम चलाई दिनका लागि आग्रह गर्नु भयो ।
गृह तथा सञ्चारमन्त्री सिंहले कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकालाई जिम्मेवार बनाउनका लागि पत्रकारिताले निरन्तर रुपमा कलम चलाउन आवश्यक भएको बताउनु भयो ।

उहाँले किसान, उद्योगपति तथा व्यापारिकहरूको समस्याहरूको उजार गर्दै यसका समाधानका उपायमा पत्रकारिता क्षेत्रले राज्यलाई राय सुझाव सहितको समाचार, विचार, लेख रचनाहरू प्रकाशित तथा प्रसारित गर्न जरुरी रहेको बताउनु भयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन यादवले स्थानीय तहमा हुने गरेको ढिला सुस्ती तथा अनियमितताको विषयमा निरन्तर रुपमा खबरदारी गर्नका लागि पत्रकारहरूलाई आग्रह गर्नु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले राष्ट्रिय समाचार समितिले निष्पक्ष तथा तटस्थ रुपमा समाचार सम्प्रेषण गर्दै आएको र अगामी दिनमा थप जिम्मेवारीका साथ अगाडी बढ्न जरुरी रहेको बताउनु भयो ।
लक्ष्मीनिया गाउँ पालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले पत्रकारिता क्षेत्र जिम्मेवारीको क्षेत्र भएको बताउँदै पत्रकारहरूले समाचार लेख्दा निष्पक्ष रुपमा मात्र लेख्नु पर्ने धारणा राख्नु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले पत्रकारिता जगत जहिले पनि राष्ट्र तथा जनतालाई केन्द्रमा राखेर काम गर्न आवश्यक भएको बताउँदै सामाजिक, राजनीतिक, प्रशासनिक विकृतिका विषयमा खुलेर कलम चलाउनका लागि आग्रह गर्नु भयो ।
राष्ट्रिय समाचार समिति मधेश प्रदेशका कार्यालय प्रमुख टिकाराम सुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडी, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण र नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्ण सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
कार्यक्रममा गृह तथा सञ्चारमन्त्री सिंहले राससको मधेश प्रदेशको भवन मरम्मतमा सहयोग गरेबापत जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई कदर पत्र प्रदान गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्