बिपी प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागमा सेवा विस्तार
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टर्नल मेडिसिन विभागद्वारा बिरामीहरूको उपचारका लागि दिँदै आएको विशिष्ट सेवाहरूमा विस्तार गरेको छ ।
विभागले फाल्गुण देखि हप्ताको हरेक बिहीबार बिहान १० बजे देखि १ बजेसम्म सञ्चालन हुने गरी Geriatric Clinic (Frailty/Multi-Morbidity Clinic) को थप सेवा शुरु गरेको हो ।

यस किसिमका Frailty/Multi-Morbidity Clinic नेपालमै पहिलो पटक प्रतिष्ठानमा शुरु भएको प्रतिष्ठानका प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिनुभयो ।
उक्त क्लिनिक ज्येष्ठ नागरिकहरूलाई उमेरका कारणले हुने आन्तरिक कमजोरी (Frailty) का साथै शारीरिक तथा मानसिक समस्याहरू जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि तथा दुई वा सो भन्दा बढी रोग (Multi-Morbidity) भएका हरूको उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रवक्ता डा. प्रधानले बताउनुभयो ।
एउटै बिरामीलाई लामो समय लगाएर चेकजाँच गर्नुपर्ने भएको हुँदा अहिलेको सुरुवाती चरणमा एक पटकमा १५ जना बिरामीहरूलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको बिपी प्रतिष्ठानले जनाएको छ ।
यसका साथै विभागले गर्भवती महिलाहरूमा देखापर्ने मधुमेह र थायराईडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरूको उपचारका लागि Pregnancy & Diabetes and Thyroid Clinic (गर्भवती तथा मधुमेह र थायराईड क्लिनिक) को पनि शुरुवात गरेको छ ।
विभागले महिनाको पहिलो बिहीबार Stroke Clinic, दोस्रो बिहीबार Headache Clinic, तेस्रो बिहीबार Epilepsy Clinic तथा चौथो बिहीबार Parkinson’s Disease & Movement Disorder clinic गरी चार प्रकारका Clinic हरू सञ्चालनमा ल्याएर बिरामीहरूलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्