तपाईँ सुन्दै हुनुहुन्छः

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति

काठमाडौँ। बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै ४८ दिनदेखि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलन स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित आन्दोलनरत पक्षसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको वार्तापछि सहमति जुटेको हो। सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र आन्दोलनरत पक्षका तर्फबाट अभियन्ता रुबी खानले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गर्ने र दोषीउपर मुद्दा चलाउने सहमति भएको छ।

आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत् (थाती) राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा भनिएको छ। त्यसैगरी आन्दोलनरत पक्षका व्यक्तिहरूको जिउज्यानको सुरक्षाका लागि सुरक्षा संयन्त्रहरूले उचित समन्वय र प्रबन्ध गर्ने सहमति पनि भएको छ।

सामाजिक अभियन्ता एवं मानव अधिकारकर्मीहरू मोहना अन्सारी, प्रा.डा. गोविन्द केसी, ओमप्रकाश अर्याल, विमल अर्याल, डा. सञ्जीव उप्रेती, गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, गीता चमार, मनकुमारी गुर्ताल (सकिना तेली), आबदा खातुन दर्जी, सलिमुन निशा बेहना, विजयबाबु सिवाकोटीसहितका अधिकारकर्मीको रोहवरमा सहमति भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button