चितवन–२ मा पुरानाकै चाहना
चितवन। चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् ।
सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो । लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो ।
यसैगरी नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत प्राप्त गर्नुभएको थियो । अन्य उम्मेदवारको मत एक हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार सात सय ५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनः आफ्नो उम्मेदवारी रहने बताउँदै आउनुभएको छ । उहाँ निकट पत्रकार प्रकाश सिग्देलले भन्नुभयो, “पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हो ।”
आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुग्नुभएका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताउनुभएको छ । उहाँले टेलिफोनमा भन्नुभयो, “म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु ।” यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उहाँको गुनासो थियो ।
नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुनुभएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु ।” दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरूलाई भन्दा आफूलाई सहज भएको उहाँको तर्क छ । श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ ।
सो क्षेत्रमा नेपाली काँग्रेसबाट अन्य उम्मेदवारहरूले पनि चाहना व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि दाबी प्रस्तुत गर्नुभएको छ । यो क्षेत्र भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पूरै भाग पर्दछ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका थिए । पछिल्लो समय निर्वाचन कार्यालयले पुनः मतदाता नामावली सङ्कलन गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्