हेटौँडा उपमहानगरको ५४ औँ स्थापना दिवसमा २३ जना सम्मानित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आफ्नो ५४ औँ स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने २३ जनालाई सम्मान गरेको छ ।
स्थापना दिवसका अवसरमा उपमहानगरलाई अहिलेसम्मको अवस्थामा पुर्याउने पूर्व जनप्रतिनिधि देखि हेटौँडाको विकासमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका २३ जनालाई सम्मान गरेको हो ।

५४ औँ स्थापना दिवसमा बागमती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि यादवचन्द्र शर्मा, हेटौँडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । स्थापना दिवस पारेर हेटौँडा उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दीर्घ सेवा पदक, नगद २५ हजार राशि सहित वारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्यनिष्ठ र ९ जना उत्कृष्ट कर्मचारीलाई नगद ७५ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।
स्थापना दिवस पारेर हेटौँडा नगर पञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय वासुदेव रिजालको हेटौँडा–२, संगमचौकमा रहेको अर्ध कदको प्रतिमा उपमहानगरको प्राङ्गणमा स्थानान्तरण गरी अनावरण गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशको मध्य बिन्दुमा रहेको हेटौँडा उपमहानगरपालिकालाई व्यवस्थित सहरको रुपमा विकास गर्न सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाको विकास मोडल देशभर पुग्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व नगर प्रमुख डोरमणि पौडेलले हेटौँडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको विकासका लागि सबैको भूमिका आवश्यक रहको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्