तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जको पशुपतिनाथमा भव्य महाआरती

वीरगञ्ज । महाशिवरात्रि पर्वको अवसरमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जको वडा नम्बर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आज साँझ भव्य महाआरती गरिएको छ ।

भारतको काशी विश्वनाथका मुख्य पुजारी डा.श्रीकान्त मिश्र, जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रोशन दास, भारत अयोध्याबाट आएका साधु सन्त महन्थहरुको विशेष उपस्थितिमा आज साँझ महाआरतीको आयोजना गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

वीरगन्जमै पहिलो पटक नेपाल तथा भारतका प्रख्यात तीर्थस्थलबाट मुल पुजारी तथा भट्टहरूलाई आमन्त्रण गरी महाआरती गरिएको यो पहिलो पटक हो ।

वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषद्को संयुक्त आयोजनामा महाआरती सम्पन्न भएको हो । वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा स्थापित आरध्यदेव पशुपतिनाथको दोस्रो मन्दिरको रुपमा रहेको पिपरास्थित पशुपतिनाथ मन्दिरलाई झकिझकाउ तथा सौन्दर्यीकरण गरेको छ ।

तराईमै एक मात्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यीकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुवै देशका प्रख्यात धामका मुख्य पुजारी मार्फत महाआरती गरिएको हो ।

काठमाडौँको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने नेपाल तथा भारतका भक्तजनहरू पिपरामा रहेको पशुपति मन्दिरमा पुगेर पूजा अर्चना गर्न सक्ने व्यवस्था समेत मिलाइएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button