डी ब्रान्ट राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ । बेल्जियमका जान जोसे डी ब्रान्टलाई नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिनुभयो ।
बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । जान डीले नेपालको महिला र पुरुष दुवै टोली हेर्ने छन् ।
महासचिव श्रेष्ठले प्रशिक्षक जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आइपुग्ने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीभी) को सहयोगमा जान डी नेपाल आउन लागेका हुन् ।
६४ वर्षीय प्रशिक्षक जान डी निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् ।
महासचिव श्रेष्ठले नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ पनि नेपाल आउने जानकारी दिनुभयो । एसियन गेम्सको ४५ दिन अघि नेपाली टोलीलाई प्रशिक्षण दिन डच प्रशिक्षक एबिङ नेपाल आउने छन् । चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण यसै साताबाट सुरु हुने भएको छ ।
नेपाल भलिबल सङ्घले महिला टिमको प्रशिक्षण फागुन ४ गतेबाट सुरु हुने जनाएको छ । नेपालमा आयोजना हुने काभा महिला सेन्ट्रल जोन भलिबलका लागि टिमको प्रशिक्षण सुरु गर्न लागिएको हो । दशरथ रङ्गशालाको कभर्ड हलमा हुने बन्द प्रशिक्षणमा १८ देखि २१ खेलाडी राखिने छ ।
प्रतियोगिता आगामी मे २० देखि ३० भित्र आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित १० टिमको सहभागिता रहने छ ।








प्रतिक्रिया राख्नुहोस्