‘सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा सरकार केन्द्रित’
कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा सरकार केन्द्रित भएको बताउनुभएको छ । विकास र सामाजिक न्यायमा पछि परेका क्षेत्र सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि महेन्द्रनगरमा आयोजना गरिएको १४ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासमा प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले सोमबार नै कञ्चनपुरको दोधारा चाँदनीस्थित प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत अनुगमन गर्नुभयो । सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएर स्वीकृतिको चरणमा रहेको र त्यस लगत्तै बन्दरगाह निर्माण हुने क्षेत्र खाली गरेर आवश्यक संरचना निर्माणको कामलाई द्रुतगति दिइने उहाँको भनाइ छ । निकट भविष्यमा आफूले गर्ने भारत भ्रमणका क्रममा समेत यी विषय प्राथमिकतामा राख्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले सोमबार नै जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा आयोजना गरेको कार्यक्रमलाई समेत सम्बोधन गर्नुभयो । महेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले देशमा परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको उपलब्धिलाई संस्थागत गर्दै जाँदा जनयुद्ध दिवस माओवादीले मात्रै नभई अब सबै नेपालीले मनाउने दिवसका रुपमा परिणत भएको बताउनुभयो । त्यसकै प्रारूपमा सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालको कञ्चनपुर भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसहित प्रतिनिधि सभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसांसदहरू, सरकारका मुख्य सचिव, स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि लगायतको समेत सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्