तपाईँ सुन्दै हुनुहुन्छः

गुठिचौरका ३० जना स्याउ किसानलाई कृषि औजार वितरण

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले किसानहरूलाई आधुनिक कृषि औजार वितरण गरेको छ ।

परम्परागत औजारको प्रयोगले गरेको असर, आधुनिक औजारको बढ्दो माग र आवश्यकतालाई मध्यनजर गर्दै पहिलो चरणमा पालिकाभरका ३० जना किसानलाई कृषि औजार वितरण गरिएको कृषि शाखा प्रमुख उमेश न्यौपानले बताउनुभयो ।

गुठिचौरका वडा नंं. १ देखि ५ सम्मका किसानलाई करिब दुई लाख बराबरको औजार उपलब्ध गराइएको हो । व्यावसायिक ३० जना किसानलाई औजार दिइएको हो ।

उत्पादन वृद्धिसँगै किसानलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर बनाउन पालिकाले कृषिमा जोड दिएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । किसानलाई औजारसँगै आवश्यक सीप र ज्ञान दिन तालिम, अभिमुखीकरणको आयोजना गरिने अध्यक्ष बुढाको भनाई छ । गुठिचौरको समृद्धिको आधार नै कृषि क्षेत्र भएकोले कृषिमैत्री नीतिसँगै कृषिमा लगानी बढाउन तयार रहेको अध्यक्ष बुढाले बताउनुभयो ।

आधुनिक कृषि औजारले बिरुवा काँटछाँटमा सहज हुने किसान रमाकान्त अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“औजारसँगै सिप पनि दिनुपर्छ । साथै सामाग्रीको दिगो उपयोग र संरक्षणमा किसानले ध्यान दिन जरुरी छ । कृषि सामाग्री पाउँदा किसान खुशी भएका छौ ।” रमाकान्त विगत ३ वर्षदेखि गुठिचौरमा व्यावसायिक स्याऊ खेती गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button