लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ

देउखुरी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराउनुभएको हो ।
मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको हो ।
मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गर्नुभएको थियो । यसअघि बिनाविभागीय मन्त्रीका रूपमा रहनुभएका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । मुख्यमन्त्री गिरीले गत पुस २८ गते विना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गर्नुभएको हो ।
विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले पनि आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेललाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधिश गोपाल भट्टराईले प्रदेश प्रमुखको उपस्थितिमा शपथ गराउनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्