बाल विवाह रोक्न विवाह गर्दा वडाको स्वीकृति अनिवार्य

अछाम । बाल विवाहका घटनाहरू बढ्दै जान थालेपछि स्थानीय तह तथा वडाले विभिन्न अभियान शुरु गरेका छन् ।
अछामको कमलबजार नगरपालिका५ ले विवाह गर्दा अनिवार्य वडाको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । समाजमा बढ्दो अवस्थामा रहेको बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले यो व्यवस्था गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सेनाले बताउनुभयो ।
वडा कार्यालयले विवाह गर्ने केटा र केटीले अनिवार्य रुपमा वडा कार्यालयमा जन्मदर्ताको प्रतिलिपि पेश गरी स्वीकृति लिई विवाह गर्नुपर्ने, २० वर्षभन्दा कम उमेरका केटा/केटीको विवाह गरिदिने आफन्त, परिवार, छरछिमेक, पुरोहित/ब्राह्मण लाई नेपालको प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जनाएको छ ।
यसका साथै विवाहको कार्ड छपाउँदा अनिवार्य रुपमा दुलहा/दुलहीको जन्ममिति उल्लेख गर्नुपर्ने, यदि विवाहको निमन्त्रणा कार्डमा जन्ममिति उल्लेख नभएको निमन्त्रणा पत्र अस्वीकार गर्न वडा कार्यालयले आग्रह गरेको छ ।
वडा कार्यालयले जारी गरेको निर्देशनलाई अटेर गरि बाल विवाह गरे/गराइएको पाइएमा वडा नम्बर ५ को कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरू कटौती गरिने समेत वडा कार्यालयले जनाएको छ । नियमको अटेरी गर्ने स्थानीयलाई बाल पोषण भत्ता, विभिन्न किसिमका सिफारिस, सामाजिक सुरक्षा भत्ता, काठको पुर्जी रोक्का गरिनुका साथै सार्वजनिक कार्यक्रममा समेत प्रतिबन्ध लगाइने कार्यालयले जनाएको हो ।
वडा नः ५ का अध्यक्ष सत्यराज तिमिल्सेनाले वडामा बालविवाहलाई न्यूनीकरण गरि निकट भविष्यमा वडालाई नै बालमैत्री वडा घोषणाका लागी यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाले विभिन्न टोल तथा बस्ती स्तरमा बाल विवाह न्यूनीकरणका गतिविधि सञ्चालन गरिरहेको छ ।
साझेदार निकाय वर्ल्ड भिजन, वाक नेपाल तथा नगरपालिकाले अभियानमा साथ दिइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्