तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा चालु बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश (पूर्णपाठ)

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा समीक्षा प्रतिवेदन पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाइएको जानकारी दिनुभयो । 

यस अघिको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको रहेकोमा अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र भएको छ । 

यो यस अघिको बजेटभन्दा २ खर्ब ४४ अर्ब रुपैयाँले कम हो । 

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत पुग्न नसक्ने उल्लेख गर्दै कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले राजस्व प्रशासन तथा प्रणालीमा सुधार गर्न पर्ने विगतदेखि नै देखिएको भए पनि त्यसो हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले भने यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले कृषि र पर्यटनमा सुधार हुने देखिए पनि उत्पादनमूलक क्षेत्रमा समस्या देखिएकाले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको बताउनुभयो । 

यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

यसअघि, आजको बैठकमा सांसदहरुले देशका समसामयिक अवस्थाका बारेमा बोल्नुभएको थियो । 

बैठकमा सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारी व्यवस्थापनमा सरकार र सुरक्षा संयन्त्रको गलत निर्णयका कारण राष्ट्रपति संस्था बदनाम हुनुपरेको उल्लेख गर्दै सरकारले यसबारे राजनीतिक तहबाट समस्याको समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । 

यस्तै, अर्का सांसद ज्ञानेन्द्रबहादुर शाहीले शैक्षिक सत्र सकिन लाग्दा समेत जुम्ला लगायतका हिमाली जिल्लामा पाठ्यपुस्तक पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगामी शैक्षिक सत्रमा समयमै सबै क्षेत्रमा पाठ्यपुस्तक पुर्‍याउन माग गर्नुभयो । 

सांसद चन्द्रकान्त भण्डारीले लघुवित्तको चर्को ब्याजका कारण विपन्न वर्गका जनता मारमा परेको उल्लेख गर्दै यसको अनुसन्धान गरी समाधानको बाटो खोज्न सरकारसँग माग गर्नुभयो । 

यस्तै, प्रतिनिधिसभाको बैठकमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो क्षेत्रका समस्याहरूबारे सदनमार्फत सरकारको ध्यानाकृष्ट गराउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक फागुन ३ गते बुधबार बिहान ११ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button