‘स्वास्थ्य क्षेत्रको सुधार सरकारी अस्पतालबाट हुन्छ’
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आम जनताले भगवानको रुपमा मानेका चिकित्सकहरूले पनि जनताको भावनाको सम्मान गरेर गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभएको छ ।
मुख्यमन्त्री यादवले सामाजिक विकास मन्त्रालयको अर्धवार्षिक समीक्षा कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै चिकित्सकहरूलाई निर्भिक भएर जनताको उपचारमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेशका सबै प्रादेशिक अस्पतालहरूलाई २ सय शैय्याको अस्पतालको रुपमा रूपान्तरण गरिने जनाउँदै सरकारी अस्पतालको सेवामा सुधार गरेपछि नीजि अस्पतालमा हुने ठगी तथा गलत क्रियाकलापविरुद्ध प्रदेश सरकार निर्मम हुने बताउनुभयो ।
मुख्यमन्त्री यादवले सङ्घीयताको भावना स्वास्थ्य क्षेत्रबाट नै प्रतिबिम्बित हुने गरेकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार जस्तोसुकै कदम चाल्न पनि तयार भएको सुनाउनुभयो ।

सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले मधेश प्रदेशमा जनसङ्ख्या, गरिबी, अशिक्षा बढी भएको तर स्वास्थ्य पूर्वाधारको अवस्था कमजोर भएकाले सेवामा सुधारका लागि सबै प्रकारका सहयोग गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अब्दुल कलाम आजादले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूको भौतिक प्रगति समग्रमा चालु आर्थिक वर्षको ६ महिनामा सन्तोषजनक रहेको छैन । समग्रमा करिब १२ प्रतिशतले प्रगति भएको पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्