जीतपुरको सिटी मार्केटमा आगलागी ७० लाख भन्दा बढीको क्षति

वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा रहेको सिटी मार्केटमा आगलागी हुँदा ७० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट सिटी मार्केट भित्र रहेको हजारी साह र विवेक चौधरीले सञ्चालन गरेको कपडा पसल पूर्ण रुपमा नष्ट भएको छ भने अनिल साह, मोहम्मद सुबराति, मुनुलाल प्रसाद रौनियार र अन्जनी प्रसाद चौरसियाको कपडा पसल समेत पूर्ण रुपमा जलेको छ ।
अनिल साहले सञ्चालन गरेको कपडा पसलमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको अनुमान प्रहरीले गरेको छ । आगो किन र कसरी लाग्यो ? भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगमको गरी ३ वटा दमकल, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
बिहान ७ः३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन बाट जोगिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्