तपाईँ सुन्दै हुनुहुन्छः

पार्वती र श्रद्धा फाइनलमा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान)को आयोजनामा भइरहेको उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा पार्वतीले नेपाल विद्युत् प्राधिकरणकी अम्बिका सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २–० को नतिजामा पराजित गरे । महिला डबल्समा कोषका मौसमी र कोमल रायमाझी तथा विद्युतका अम्बिका र सविना तामाङको जोडीले फाइनल यात्रा तय गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको प्रतियोगिताको पुरुष सिङ्गल्समा कृषि विकास बैंकका टक्कर कुँवर, टेलिकमका सुरेन्द्रसिंह कार्की तथा विद्युतका भुपेन्द्र बिसी र श्याम महर्जन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा, टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, विद्युतका राजु महर्जन र खगेन्द्र शाही तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, विद्युतका शङ्कर क्षेत्री र चन्द्रदास कारन्जित, टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ तथा नेपाल एयरलाइन्सका श्याम भट्ट र जङ्गबहादुर चन्दको जोडीले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिता भोलि शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button