तपाईँ सुन्दै हुनुहुन्छः

टर्की भूकम्प : २२ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । 

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । 

सिरियाको सरकार नियन्त्रित क्षेत्रमा  एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।  

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गर्नुभएको छ । साथै उहाँले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको थियो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन् । 

यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य सङ्गठनले व्यक्त गरेको छ । 

यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । 

अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहयोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ । रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button