सूचना प्रविधिको विकासका अनुभूति गरिब जनताले गर्न पाउनु पर्दछ : सञ्चारमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले नेपाल दूर सञ्चार प्राधिकरणको सेवालाई गरिब जनताको घर दैलोमा सुलभ तरिकाले सेवा प्रवाह हुनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
गृह तथा सञ्चारमन्त्री सिंहले नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा “मधेश प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंगको अन्तरक्रिया” कार्यक्रमको आज जनकपुरधाममा आयोजना उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले अझै पनि धेरै गरिब जनताको पहुँचमा टेलिकम सहितका अन्य सञ्चार प्रदायकहरूको सेवा पुग्न नसकेको बताउँदै सबैको घर दैलोमा गुणस्तरीय सेवा पुर्याउन आवश्यक भएको बताउनु भयो ।
गृह तथा सञ्चारमन्त्री सिंहले सूचना प्रविधिलाई कृषि तथा पर्यटनसँग जोडेर मुलुक तथा प्रदेशलाई समृद्धिको बाटोमा लाने सम्भावना भएकाले यस तर्फ लाग्न आवश्यक भएको बताउनु भयो ।
उहाँले नेपाल टेलिकम तथा एन सेल जस्ता सेवा प्रदायकको सेवा अझै पनि मधेश प्रदेशका गाउँ घरमा प्रभावकारी किसिमले पुग्न नसकेको बताउँदै सेवालाई विस्तार गर्नका लागि मधेश प्रदेश सरकार सहयोग गर्नका लागि तयार भएको बताउनु भयो ।
गृह तथा सञ्चारमन्त्री सिंहले देशलाई समृद्धि र विकासको पथमा लानका लागि अनेकन सम्भावनाहरू भएको बताउँदै त्यसमा ठूलो सम्भावना भएको क्षेत्रको रुपमा सूचना र प्रविधि भएको बताउनु भयो ।
मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतले विश्वका कतिपय देशहरूले समृद्धिको माध्यम सूचना प्रविधिलाई बनाइरहेको बताउँदै नेपाल अहिले यसमा निक्कै पछाडि रहेको बताउनु भयो ।
उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग सँगै साइवर अपराधका कुराहरू आउने भएकाले सूचना प्रविधिलाई पूर्ण सुरक्षित बनाउने गरि नेपाल दूरसञ्चार प्राधिकरणले कामकाज गर्न आवश्यक भएको बताउनु भयो ।
अध्यक्षको असनबाट बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधिको विकासका लागि टावरको निर्माण आवश्यक भएको बताउँदै टावरको विषयमा गलत सूचना प्रवाहित हुने गरेका कारणले विस्तार हुन नसकेको बताउनु भयो ।
उहाँले सूचना प्रविधिलाई गुणस्तरीय तथा प्रविधि मैत्री बनाउनका लागि टावर र तार आवश्यक भएको बताउँदै सौन्दर्यीकरणको नाउँमा तारहरू जथाभाबी रुपमा काटिएको खण्डमा यसले सेवालाई गुणस्तरीय तथा प्रभावकारी एवं कम लागतमा प्रदान गर्नमा कठिनाइ हुने बताउनु भयो ।
कार्यक्रममा सञ्चारकर्मीहरू, स्थानीय निकायका प्रमुखहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीहरू, सेवा प्रदायक संस्थाहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्