तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री र युएसएआइडी प्रमुख पावरबिच भेटवार्ता

काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावर र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबिच उच्च स्तरीय भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबिचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोग लगायतका विषयमा छलफल भएको हो ।

त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

भेटवार्तामा पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

सामन्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ ।
पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८ औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button