तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी बुधवार भोजपुर आउँदै, दुई पालिकाको कार्यक्रममा सहभागी बन्दै

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको दुई पालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुनका लागि बुधवार आउनु हुने भएको छ । 

राष्ट्रपति भण्डारीबाट गाउँपालिकाको वडा नम्बर १ कुलुङको गौडेनीमा रहेको नेपालको प्रथम समाज सुधारक विदुषी महिला योगमाया न्यौपानेको शालिक अनावरण साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजा अर्चनाको पनि कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो । 

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । १९२४ सालमा भोजपुरमा जन्मिएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा वि.स. १९९८ असार २२ गते अरुण नदीमा ६८ अनुयायीसँगै जल समाधि गरेका थिए ।

यस्तै राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्बर १ मझुवाबेसीमा रहेको योगमायाको समाधि स्थलमा माल्यार्पण, अवलोकनका साथै वडा नम्बर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा अधिकारीको शालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । सोही क्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्तम कुमार कार्कीले समाधिस्थल पार्कको समेत शिलान्यास गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख उदासले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button