अन्तिम समयमा साँफेबगर महोत्सव स्थगित, माघ २७ गते सारियो

अछाम । यही माघ २४ गतेबाट सुरु हुने भनिएको पाँचौँ साँफेबगर महोत्सव अन्तिम समयमा आएर स्थगित भएको छ।
महोत्सवका लागि आवश्यक केही तयारी नपुगेको र टेन्टको जिम्मेवारी लिएको संस्थाले टेन्ट ल्याउन नसक्दा स्थगित गर्नुपरेको बताइएको छ । प्राविधिक कारणले २४ गते स्थगित भई यही माघ २७ गते महोत्सवको उद्घाटन गरिने आयोजकले जनाएको छ ।
प्राविधिक समस्याका कारण महोत्सवको मिति परिवर्तन गरिएको महोत्सवका प्रचार संयोजक तपेन्द्र कुँवरले बताउनु भयो । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सव अब माघ २७ गते उद्घाटन गरिने छ ।
महोत्सव मूल आयोजक समितिका उप संयोजक राम बहादुर कुँवरले उद्घाटनको अन्तिम समयमा प्राविधिक समस्या देखिएकाले महोत्सवको मिति परिवर्तन गर्न बाध्य भएको जानकारी दिनुभयो ।
आयोजकले सोमबार मात्रै पत्रकार सम्मेलन गरि महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र मङ्गलवार उद्घाटन हुने जनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्