तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित 

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदमा उहाँको मात्रै उम्मेदवारी परेको भन्दै राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा राष्ट्रियसभा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले सबै मिलेर सहमतिको आधारमा अगाडी बढ्न सकारात्मक सन्देश राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनले दिएको बताउनुभयो । 

प्रस्तावका समर्थक सांसद देवेन्द्र दाहालले उपाध्यक्ष पदको पदीय जिम्मेवारी निष्पक्ष ढङ्गबाट निर्वाह गर्ने विश्वासका साथ उपाध्यक्ष पदमा उर्मिला अर्याललाई समर्थन गरेको बताउनुभयो ।

अर्का समर्थक सांसद खिमलाल देवकोटाले उर्मिला अर्याल उपाध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताउनुभयो । 

यसअघि, उपाध्यक्ष रहनु भएकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । 

आइतबार मनोनयन दर्ताको दिन नेपाली कांग्रेस लगायतका दलहरूले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेपछि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

यसअघि, कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button