तपाईँ सुन्दै हुनुहुन्छः

अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयको निगरानी

कञ्चनपुर I शुक्लाफाँटा नगरपालिका-१२ स्थित दोदा नदीबाट बालुवा अवैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ । नदीबाट रातको समयमा बालुवा अवैध रुपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो । 

बालुवाको जथाभाबी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “धेरै पटक अवैध रुपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन् रोकेका छौँ”, उहाँले भन्नुभयो, “दिउँसो बालुवा उत्खनन् गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खनन्को हुन थालेको छ ।” 

उहाँका अनुसार अवैध रुपमा बालुवा उत्खनन् हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ । जथाभाबी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ । 

“वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीको बालुवा वैधानिक रुपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ”, अध्यक्ष रानाले भन्नुभयो, “यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन ।” अवैध रुपमा बालुवा उठाएर लैजाँदा नगरपालिकालाई लाखौँ रकम बराबरको राजस्व गुमेको छ ।

बालुवा बस्ती नजिकका क्षेत्रबाट उठाइने भएकाले जोखिम बढ्दै गएको स्थानीय घुम्मन रानाको भनाइ छ । “बालुवाको तस्करी नरोकिए आउँदो वर्षातमै धेरै ठाउँमा तटबन्ध भत्किएर बाढीको पानी बस्तीमा छिर्ने सम्भावना बढेर गएको छ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार दैनिक नदी क्षेत्रबाट दुई दर्जन बढी ट्रयाक्टरमा अवैध रुपमा बालुवा उत्खनन् भई तस्करी हुने गरेको छ । नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट लालझाडी गाउँपालिकाले दुई वर्ष ठेक्का सम्झौता गरी बालुवा उत्खनन् गरेको स्थानीयको भनाइ छ । चालु आर्थिक वर्षमा भने गाउँपालिकाले टेण्डर आह्वान गरेको छैन । 

दोदा नदी शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिको सीमा नदी हो । दुवै पालिकाले नदी क्षेत्रको सिमाङ्कन गर्नुपर्ने वडा अध्यक्ष रानाको तर्क छ । “नदीजन्य पदार्थको उत्खनन् गरी लाखौँ राजस्व सङ्कलन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बजेटका लागि सङ्घ र प्रदेश सरकालाई गुहार्नु पर्दैन ।”

यसैगरी सनवोरा नदी क्षेत्रको कलुवापुर र पिपलाडी क्षेत्रबाट समेत अवैध रुपमा बालुवा उत्खनन् भइरहेपनि नियन्त्रणको प्रयास भने भएको छैन । नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले आफ्नो जग्गा नदीको बाढीले बगाएकाले नदीको बालुवा बिक्री गर्दै आएको बताउँदै आएका छन् ।

नगर प्रमुख रणबहादुर महराले आगामी आवमा नगरपालिका क्षेत्र भित्रका सबै नदीहरूको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य गरी गाउँ बस्ती र वातावरणलाई असर नपर्ने ठाउँमा नदीजन्य पदार्थ उत्खननका लागि टेण्डर आह्वान गरी ठेक्का सम्झौता गरिने बताउनुभयो । 

दोदा नदीमा नदीजन्य पदार्थ उत्खननका लागि लालझाडी गाउँपालिकासँग समन्वय गरिने उहाँको भनाइ छ । अवैध भइरहेको बालुवाको तस्करी रोक्नका लागि काम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button