सल्यानका दुई पालिकालाई रेबिज विरुद्धको औषधि हस्तान्तरण

सल्यान । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि सल्यानका दुई पालिकामा पुगेर रेबिज विरुद्धको औषधि हस्तान्तरण गर्नुभएको छ ।
मन्त्री शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि पालिकाहरूलाई औषधि र भ्याक्सिन हस्तान्तरण गर्नुभएको हो ।
केही दिनदेखि जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा यो रोग महामारीको रूपमा फैलिरहेको छ ।
बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई तीन सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
केही दिन पहिला घरमा पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले नमुना सङ्कलन गरी पशुपक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो ।
कार्यालयले जिल्लाको तीन पालिकामा रेबिज रोगको अवस्था भयावह हुन थालेपछि स्थानीय तहहरूमा औषधि र भ्याक्सिनको अभाव भएको जानकारी गराएको थियो ।
अज्ञात रोगले बनगाड कुपिण्डे नगरपालिका क्षेत्रका ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रका पशुचौपाया बिरामी भएका थिए ।
बिरामी भएका पशु चौपायालाई कुन रोग लागेको हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना सङ्कलन गरी सुर्खेत पठाइएको नगरपालिकाका पशु शाखा प्रमुख विनाराम रावतले बताउनुभयो ।
बिरामी पशुको नमुना सङ्कलन गरी प्रदेश प्रयोगशालामा पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्