देवचुलीमा किशोरीमैत्री अध्ययन केन्द्र निर्माण हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको देवचुली नगरपालिकामा किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्डको सहयोगमा देवचुली १० पृथ्वीनगरमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको हो ।
किशोरीहरूको लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले अध्ययन केन्द्र निर्माण थालिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
प्रविधियुक्त हल स्थापना गरी बालबालिका र किशोरीहरूलाई आवश्यक ज्ञान सीप प्रदान गर्ने उद्देश्यले किशोरीमैत्री अध्ययन केन्द्र निर्माण थालिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
बालबालिका र किशोरीसँग सम्बन्धित नेपालसहित विश्वका देशहरूमा भएका नीति, कानून, वृत्तचित्र, भए गरेका काम, किशोरीहरूको गतिविधि, पुस्तक र सूचना लगायतका बारेमा एकै ठाउँबाट जानकारी प्राप्त हुने पौडेलले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले निर्माण सम्पन्न भएपछि यस अध्ययन केन्द्रबाट बालबालिका र किशोरीका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
“एकै ठाउँबाट बालबालिका र किशोरीहरूको बारेमा जानकारी दिने, उनीहरूका लागि आवश्यक पर्ने सानादेखि ठूला स्तरका तालिम सञ्चालन गर्ने, इ – लाइब्रेरी, प्रविधियुक्त सुविधा सम्पन्न हल लगायतका संरचना निर्माण गरिने छ ।” महासचिव शर्माले भन्नुभयो – “हामीले यस अध्ययन केन्द्रलाई नमुनाका रुपमा स्थापित गर्न खोजेका छौँ । किशोरी सशक्तीकरणमा यस अध्ययन केन्द्रले टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ ।”
करिब पाँच करोडको लागतमा निर्माण थालिएको अध्ययन केन्द्र यसै वर्षभित्र निर्माण सम्पन्न हुने शर्माले जानकारी दिनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालले बालबालिका र किशोरी अधिकारसँगै युवा, महिला , वातावरण ,आय आर्जन र पोषणको क्षेत्रमा काम गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्