भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थ सचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । अर्थ मन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघि रसुवा भन्सार प्रमुखका रुपमा काम गर्नुभएको थियो । अर्थ मन्त्रालयले भ्याट प्रणाली लागु गर्दा उहाँले पनि योगदान पुर्याउनुभएको थियो ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रवर्द्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । उहाँले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनुभयो । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ ।
कार्यक्रममा अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । सरकारी नीति एकद्धार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भन्सार नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिनुभयो ।
सम्मान कार्यक्रममा अर्थ सचिव रायले भन्सार नाकाहरूमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार सङ्गठन डब्लुटीओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताउनुभयो । भन्सार सुधारको आवश्यकता आफूलाई पनि महसुस भएको रायको भनाई छ ।
भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरूबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाइजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढाको भनाई छ ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्