पैसा लिएर फरार भएका मा दुर्गा मनिट्रान्सफरका तीन कर्मचारी पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजको घण्टाघरमा रहेको मा दुर्गा मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई रकम ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका वडा नं १० मा रहेको मा दुर्गा मनिट्रान्सफर प्रा.लि.मा काम गर्दै आएका वीरगन्ज वडा नम्बर १० मा निवासी आकाश साह, सञ्जय साह र महम्द सकिर मियाँलाई ४ लाख १४ हजार ८ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मा दुर्गा मनिट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले ४ लाख १४ हजार ८ सय रुपियाँ कृषि विकास बैङ्कमा जम्मा गरी सो को भौचर लिएर आउन बैङ्कमा पठाएकोमा कम्पनीमा कार्यरत तीन जना कर्मचारीले उक्त रकम लिएर फरार भएका थिए ।
कम्पनीमा कार्यरत कर्मचारीले बैकमा रकम जम्मा नगरी भागेको सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा आएसँगै जिल्लाबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
प्रहरीले अभियुक्तको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ ।
प्रहरीले घटनामा संलग्न तीनै जनालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ४ दिनको म्याद थप गरी आवश्यक कारबाही अगाडी बढाएको डिएसपी गिरीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्