तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटको तादी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले कृषकहरूलाई कृषि बीमा गर्न प्रोत्साहन गर्नका लागि सरकारले कृषि बिमामा उपलब्ध गराउँदै आएको अनुदान बाहेक गाउँपालिकाबाट समेत बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, उहाँले छिट्टै नै गाउँपालिकाका कर्मचारीहरूको दुर्घटना बीमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष तामाङले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका कारणले हुनसक्ने आर्थिक क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमा गर्न जोड दिनुपर्ने बताउनुहुँदै गाउँघरमै बीमा गर्न पाउने र बीमा दाबी पनि सहजै पाउने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाको परिचय, महत्त्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा गाउँपालिकाको भूमिकाका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

उपनिर्देशक सापकोटाले स–साना रकमबाट समेत बीमा गर्न नपाएमा, बीमा दाबी भुक्तानी समयमा नभएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा नेपाल बीमा प्राधिकरणलाई जानकारी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि, बीमा अभिकर्ता, कृषकहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button