तपाईँ सुन्दै हुनुहुन्छः

तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइत र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। “मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।” उहाँले भन्नुभयो, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।”

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिनुहुँदै उक्त सम्मानले नेपालको शिर उँचो राखेको बताउनुभयो। “यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रिय स्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ” उहाँले भन्नुभयो, “मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो।”

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतिया बिन्दुको उपचारका लागि समेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button