तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय व्यवस्थालाई सुदृढ बनाउन आफूले भूमिका खेल्ने : सभामुख घिमिरे 

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई आफ्नो पथ प्रदर्शकको रुपमा लिएर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको हैसियतले आफ्नो पहिलो सम्बोधन गर्नुहुँदै नवनिर्वाचित सभामुख घिमिरेले संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । 

सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका सञ्चालक हुने बताउनुहुँदै सबै राजनीतिक दल र सांसदहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताउनुभयो । 

सभामुख घिमिरेले प्रतिनिधिसभा राष्ट्रियता, जनजीविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानून बनाउने आफ्नो मूलभूत कार्य प्रति सदैव क्रियाशील रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुग्ने र प्रतिपक्षी दलहरू सरकारको  नीति तथा कार्यक्रमको गुण र दोषको आधारमा खबरदारी गर्ने उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिन आफूले भूमिका खेल्ने बताउनुभयो ।

यसअघि आजको बैठकको सुरुमा समय लिएर बोल्नुहुँदै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । 

सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत भएको र  त्यसलाई सच्याइनुपर्ने बताउनुभयो ।

गृह मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर अपराधीको खोजी गर्नु र विभागीय मन्त्रीको निर्देशन प्रहरीले पालना गरेन भन्नु चिन्ताका विषय भएकोले यस विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो । 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धादिङका चेपाङ समुदायको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभामा आज उपसभामुखको निर्वाचन हुने कार्यसूची रहेको छ । 

उपसभामुख पदमा सत्ता साझेदार दलहरूको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगर र नेपाली काँग्रेसका सांसद मुक्ता कुमारी यादवबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखको पहिलो सम्बोधन (पूर्णपाठ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button